लोड हुँदैछ...

विद्युत नियमन आयोग

सानो गौचरण, काठमाडौं, नेपाल

विद्युत नियमन आयोग २०८३ श्रावण २० गते बुधबार
मुख्य मेनु
गृह पृष्ठ हाम्रो बारेमा अभिलेखालय मौजुदा कानुन महशुल दर निवेदनको स्थिति सूचना ग्यालरी डाउनलोड पदपूर्ति सम्पर्क नागरिक वडापत्र
/ अध्यक्षज्यूको सन्देश

अध्यक्षज्यूको सन्देश

अध्यावधिक मिति २०८३ श्रावण २० गते बुधबार

विद्युत नियमन आयोग नेपालको विद्युत क्षेत्रलाई पारदर्शी, प्रतिस्पर्धी, उत्तरदायी तथा उपभोक्तामैत्री बनाउने उद्देश्यले विद्युत नियमन आयोग ऐन, २०७४ बमोजिम स्थापित एक स्वतन्त्र नियामक निकाय हो। विद्युत महसुल निर्धारण, विद्युत बजारको नियमन, उपभोक्ता हित संरक्षण, अनुमति प्राप्त संस्थाहरूको नियमन तथा विवाद समाधानजस्ता महत्वपूर्ण जिम्मेवारी प्राप्त आयोगले नेपालको ऊर्जा क्षेत्रलाई दिगो, विश्वसनीय र लगानीमैत्री बनाउने दिशामा निरन्तर कार्य गर्दै आएको छ।

नेपालको विद्युत क्षेत्र आज उत्पादन विस्तारको चरणबाट प्रतिस्पर्धी विद्युत बजार, आन्तरिक विद्युत खपत वृद्धि, औद्योगिकीकरण तथा अन्तरदेशीय विद्युत व्यापारतर्फ रूपान्तरण हुँदैछ। यस परिवर्तनलाई सफल बनाउन प्रभावकारी, आधुनिक र प्रमाणमा आधारित नियमन अपरिहार्य छ। यही सन्दर्भमा नेपाल सरकारले जारी गरेको "ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३", आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधारसम्बन्धी नीति, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नीतिगत निर्देशनलाई मार्गदर्शनका रूपमा ग्रहण गर्दै आयोगले आफ्नो वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ मा आयोगले आफ्ना कार्यक्रमहरूलाई तीन प्रमुख रणनीतिक प्राथमिकतामा केन्द्रित गरेको छ। पहिलो, आयोगको संस्थागत सुदृढीकरण र सबलीकारण, जसअन्तर्गत सक्षम जनशक्ति विकास, डिजिटल नियामकीय प्रणालीको विस्तार, अनुसन्धान तथा तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन, दक्ष कार्यसम्पादन व्यवस्थापन प्रणालीको विकास तथा उत्तरदायी र आधुनिक नियामक संस्थाको निर्माणलाई विशेष जोड दिइएको छ। दोस्रो, नियामकीय व्यवस्थाको विस्तार तथा सबलीकरण, जसअन्तर्गत खुला पहुँच (Open Access) को प्रभावकारी कार्यान्वयन, आधुनिक विद्युत बजारका लागि आवश्यक नियामकीय पूर्वाधार निर्माण, बहुवर्षीय महसुल निर्धारण प्रणाली, कार्यसम्पादनमा आधारित नियमन, सेवा गुणस्तर तथा उपभोक्ता हित संरक्षणलाई थप सुदृढ बनाउनुका साथै ऊर्जा भण्डारण, विद्युत व्यापार तथा अन्य उदीयमान प्रविधिहरूलाई सम्बोधन गर्ने नियामकीय व्यवस्था विकास गरिनेछ। तेस्रो, नेपाल विद्युत प्राधिकरणको पुनःसंरचनामा प्रभावकारी नियामकीय सहजीकरण, जसमार्फत उत्पादन, प्रसारण तथा वितरण व्यवसायको संरचनात्मक रूपान्तरणलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक नियामकीय सिद्धान्त, मार्गदर्शन तथा संस्थागत संयन्त्र विकास गरिनेछ, जसले प्रतिस्पर्धी विद्युत बजारको विकास, लगानीको प्रवर्द्धन र दीर्घकालीन रूपमा विद्युत क्षेत्रको दिगो तथा सन्तुलित विकास सुनिश्चित गर्न सकिनेछ।

सक्षम नियामक संस्थाले मात्र उपभोक्ताको हित संरक्षण, लगानीको प्रवर्द्धन, विद्युत सेवाको गुणस्तर अभिवृद्धि तथा नेपालको ऊर्जा क्षेत्रको रूपान्तरणलाई दीर्घकालीन रूपमा सफल बनाउन सक्छ भन्ने आयोगको विश्वास छ। आयोग पारदर्शिता, व्यावसायिकता, निष्पक्षता र प्रमाणमा आधारित नियमनका सिद्धान्तप्रति प्रतिबद्ध रहँदै समग्र विद्युत क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय विद्युत क्षेत्र निर्माणमा निरन्तर अग्रसर रहनेछ।

धन्यवाद।

डा. राम प्रसाद धिताल
अध्यक्ष, विद्युत् नियमन आयोग, नेपाल